शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

देउवाको पिरलो : चुनावमा अरुका महिला उम्मेदवारले जित्ने हाम्रो पार्टीका महिलाले हार्ने समस्या छ

बिहिबार, असार ६ २०८१

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अरु दलका महिलाले जित्ने तर कांग्रेसका महिला उम्मेदवारले हार्ने समस्या रहेको बताएका छन्।

राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताउँदै कांग्रेसका महिला कसरी जिताउने भन्ने किसिमको तयारी आवश्यक रहेको उनले बताए ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले संसारभर नै महिलाहरुको अधिकारका लागि महिलाहरुको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ । त्यही हिसावमा नेपालमा पनि महिला राष्ट्रपति समेत नेपालमा हुनुभएको छ । विद्या भण्डारीजी दुई पटक हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ । महिलाहरुले त्यस किसिमको योग्य र सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ । महिलाहरुको कुरा उठेको छ । केही महिलाहरुलाई सिटको व्यवस्था गर्नुपर्छ, चुनावमा नत्र समस्या पर्छ भन्नेकुरा छ । त्यो गरेर जान सकिने कुरा हो तर हाम्रो त महिला हारिहाल्छ समस्या पर्छ के । अरु पार्टीका महिला जित्ने हाम्रोका हार्ने । त्यो कसरी हार्न नदिने र पार्टीलाई महिला कसरी जिताउने भन्ने किसिमको तयारी गर्नुपर्छ । महिला सशक्तिकरणको अभियान तपाईंहरु अघि बढाउनुस् ।’

उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए ।

महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने देउवाले विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने उनको भनाइ थियो ।

सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन आग्रह समेत गरे ।