शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

फ्लोर क्रस गरेका फणीन्द्र बने ऊर्जामन्त्री

बुधबार, जेष्ठ ३० २०८१

कास्की । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने फणीन्द्र देवकोटा मन्त्री बनेका छन् ।

सोमबार नेकपा ९माओवादी केन्द्र० बाट फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

उनै देवकोटा मंगलबार मन्त्री बनेका हुन्। देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बाबुराम भट्टराईको पार्टी नेसपाबाट गोरखाबाट प्रदेश सभा सदस्यको चुनाव जितेका देवकोटाले माओवादीको चुनाव चिहृनबाट प्रदेश सांसद बनेका थिए ।

माओवादीले विश्वासको मत नदिन गरेको हृवीपविपरीत उनी मुख्यमन्त्री पाण्डेको पक्षमा उभिए । फणीन्द्रमाथि कारबाही प्रक्रिया थालिएको माओवादीले जनाएको छ ।

स्कुले जीवनदेखि नै वामपन्थी विचारधारातिर आकर्षित फणीन्द्र २०५३ सालदेखि नै माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । सधैँ डा. भट्टराईको पक्षमा उभिएका देवकोटा जनमुक्ति सेनाको सहकमिसार, कम्पनी कमिसार हुँदै बटालियन कमिसारसमेत बनेका थिए । बाबुराम अर्थमन्त्री र प्रधानमन्त्री हुँदा स्वकीय सचिवको रूपमा काम गरेका उनी अहिलेसम्म पनि भट्टराईकै साथमा छन्।

देवकोटाले माओवादीको चिह्नबाट चुनाव जिते पनि आफू पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा रहेको जिकिर गर्दै आएका छन् । माओवादीसँग चिह्न लिई चुनाव लडेको बाबुरामको पार्टीले संघमा एक र प्रदेशमा २ सांसद जितेको थियो । दुई महिनाअघि पार्टी विभाजन भएपछि बाबुरामसँग फणीन्द्र मात्रै बाँकी छन् ।

यस्तै स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) छैटौंपल्ट मन्त्री बन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका छन् । दुवै मन्त्रीले मंगलबार शपथ ग्रहण गरे । उनीहरूलाई प्रदश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराए ।