२२ बर्ष काम गरेका मृगौला पिडित कर्मचारीलाई अपरेसनकै समयमा जागिरबाट निष्कासन
काठमाडौं । नेपालमा निर्जीवन बीमा कम्पनीको रुपमा काम गर्दै आएको नेशनल इन्स्योरेन्स कम्पनी भारतको प्रमुख निर्जीवन बीमा कम्पनी हो । यो कम्पनीले नेपालमा बिगत ४५ बर्षदेखि निर्जीवन बीमा सम्वन्धी कारोबार सञ्चालन गर्दै आएको छ । यो कम्पनीको १७ सय ३० वटा भन्दा बढी शाखाहरु रहेका छन् भने ५० हजार भन्दा बढी बीमा अभिकर्ताहरु रहेका छन् ।
निर्जीवन बीमा क्षेत्रमा काम गर्दै यति ठुलो यो कम्पनी आफ्ना कर्मचारीहरुप्रति भने गैर–जिम्मेवार देखिएको छ । नेपालको हकमा काठमाडौंको त्रिपुरेश्वरमा कार्यालय रहेको यो कम्पनीले बिगत २२ बर्षदेखि दिनरात नभनी सोही कम्पनीमा काम गर्दे आएका एक जना कर्मचारीलाई गैरजिम्मेवार तरिकाले न्युनतम मानवीय भावना समेत नराखेर निकाले पछि कम्पनी आफ्ना कर्मचारीहरुप्रति कतिसम्म गैर–जिम्मेवार रहेछ भन्ने कुराको पुष्टि भएको हो ।
कम्पनी श्रोतका अनुसार सरोज सिन्हा नाम गरेका कर्मचारी बिगत २२ बर्षदेखि नेशनल इन्स्योरेन्स नेपालमा काम गर्दे आएका थिए । लामो समय उक्त कम्पनीमा काम गरेका सिन्हा पछिल्लो समय आफ्ना दुई वटै मृगौला फेल भएपछि उपचारको क्रममा हाल दिल्लीमा रहेका छन् । बिगत केहि समयदेखि बेतलवी बिदामा बसेर सिन्हाले आफ्नो उपचार गराईरहेका छन् । तर कम्पनीको व्यवस्थापन पक्षले भने झण्डै दुई दशकदेखि कम्पनीमा कार्यरत रहेका सिन्हालाई गैरजिम्मेवार तरिकाले हटाएको छ ।
सिन्हाको निष्कासनबारे नेशनल इन्स्योरेन्सको मानव श्रोतमा कार्यरत सुलोचना तुलाधारलाई बुझ्न टेलिफोनमार्फत सम्पर्क गर्दा उल्टै पत्रकार कार्ड लिएर कार्यालय आउन धम्कि दिएकी छिन्। त्यस्तै नेशनल इन्स्योरेन्सको नेपाल स्थित व्यवस्थापकिय टिममा रहेका मन्जु श्री शर्मा र रश्मी राउत यसबारे केहि बोल्न चाहेनन् ।
बिरामी कर्मचारीलाई उपचारमा सहयोग गर्नुको साटो बेतलवी बिदामा उपचार गरिरहेका कर्मचारीलाई उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ मजुम्धर, डेपुटि सिइओ पंकज गुलाटीको आदेशमा नेपालको व्यवस्थापकिय टिमको सेटिङमा हटाईएको हो । श्रोतका अनुसार भारतमा उपचार गरिरहेका सिन्हालाई यो समुहले टर्मिनेटेड गरेर जागिरबाट हटाएको हो । सिईओ र डिसिओ मिलेर दाबी, भुक्तानी लगायत इन्सुरेन्स सन्चालनमा धेरै ठुलो चलखेल गरी धन्दा गर्दै अकुत सम्पति आर्जन गर्दै आएको श्रोतको दाबी छ। यी दुबैको आचरण र व्यवहार बारे तीन घुम्ती जानकार छ।
नेपालमा निर्जीवन बीमा सम्वन्धी कारोवार गर्दे आएको नेशनल इन्स्योरेन्स कम्पनीले हालसम्म बीमाको क्षेत्रमा त्यस्तो उल्लेख्य कुनै योगदान नैं गरेको छैंन । नाम मात्रको यो कम्पनीले कर्मचारीलाई न्युनतम मानवीय व्यवहार समेत नदेखाएर हटाउनुमा बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा प्राधिकरणले सत्यतथ्य बुझेर पीडित कर्मचारीलाई न्याय दिलाउनु पर्ने श्रोतको भनाई छ ।