काठमाडौं । आईसीसी टी-२० विश्वकप वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमै अल आउट भएको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १७३ रन बनाएको थियो। १७४ रनको लक्ष्य पछ्याएको गुगान्डा १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमा समेटिएको हो।
वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।
युगान्डाले पावर प्लेमा मात्र ५ विकेट गुमाएर २२ रन जोड्न सक्यो। १० ओभरमा युगान्डाले ८ विकेट गुमाएर मात्र ३१ रन बनायो। युगान्डाका लागि वेस्ट इन्डिजविरुद्ध जुमा मियागीले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका अकेल होसेनले एक्लैले ५ विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ११ रन खर्चिएका थिए।
यस्तै अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो शेफर्ड, गुडाकेश मोती र आन्द्रे रसेलले एक–एक विकेट हात पारे।
पहिले ब्याटिङ गरेको वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२/२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।
समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।
पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा अफगानिस्तानसँग १२५ रनले पराजित भएको युगान्डाले दोस्रो खेलमा पिएनजीमाथि तीन विकेटको जित निकालेको थियो।
समान दुई/दुई खेलमा विजयी भएका अफगानिस्तान र वेस्ट इन्डिज तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।