काठमाडौं । लोकसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै भारतमा नरेन्द्र मोदीलाई नयाँ सरकार गठन हुने भएको छ ।
त्यसका लागि राष्ट्रपति द्रौपदी मुर्मुले मञ्जुरी दिइसकेकी छन् ।
भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रधानमन्त्रीका रुपमा मोदीलाई अघि सार्दै गरेको दावी पेशलाई राष्ट्रपति मुर्मुले मञ्जुरी दिएकी हुन्।
भाजपाले मोदीलाई पार्टीको संसदीय दलका नेताको रूपमा चयन गरेपछि सरकार गठन गर्न राष्ट्रपति समक्ष दावी गरिएको थियो।
मोदीले आइतवार साँझ ६ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको सपथ लिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
तेस्रो पटक देशको प्रधानमन्त्रीको रुपमा सपथ लिन लागेका मोदीले सपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित भुटान, श्रीलंका, बंगलादेश र मरिससका प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएका छन्।
यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणमा जाने नेपाली भ्रमण टोलीको टुंगो लागेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको थियो ।
भ्रमण टोलीमा प्रधानमन्त्री, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल,प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम जाने भएका छन्।
लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले तेस्रो पटक बहुमत हासिल गरेको हो।
एनडीए गठबन्धनले २९२ सिट जितेको छ। भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन बहुमतका लागि आवश्यक २७२ सिटमा विजेपीले २४० सिट जितेको थियो।