बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

‘इरानी राष्ट्रपति रायसी सवार हेलिकप्टर दुर्घटनामा बाँच्ने आशा गरिएको छैन’

सोमबार, जेष्ठ ७ २०८१

तेहरान ।  इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

“राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ”, सरकारी टेलिभिजनले भनेको छ ।

खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको थियो, मुलुकको सरकारी सञ्चारमाध्यमले बताएको छ । हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि थिए ।

सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो ।

इरानको प्रेस टिभीका अनुसार उद्धार टोलीले राष्ट्रपति इब्राहिम रायसीको दुर्घटनाग्रस्त हेलिकप्टरको पहिचान गरेको छ ।

त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।

उनको सवारीमा तीनवटा हेलिकप्टर थिए । अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ ।

सुधारवादी शार्ग दैनिकले पनि ‘राष्ट्रपति बोकेको हेलिकप्टर दुर्घटनामा परेको र दुई अन्य हेलिकप्टर सकुशल अवतरण भएको’ बताएको छ ।

एजेन्सी