बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृहमन्त्री संसदीय छानबिन समितिबाट डराउनुभयाे : गगन थापा

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि पत्रकार सम्मेलनमा उनले सोमबार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन गरिनुपर्छ भने। “संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौँ,भोलि बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो, त्यो उद्देश्यका लागि समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास राख्छु”, उनले भने, “त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन ।”

उनले सरकारमाथि शङ्का भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पारे। उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन समितिलाई प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गरे ।

“संसद्ले छानबिन समिति बनाउँदै गर्दा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘अबरोध’ गर्नुभएको छ, रोक्नुभएको छ, प्रभावित गर्न खोज्नुभएको छ”, उनले भने, “आज पनि संसद्बाट उहाँले यो विषयवस्तुलाई आफैँ गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई बुझेर बहकाउने प्रयास गर्नुभएको छ । यसबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समितिबाट डराउनुभएको छ ।”

पत्रकार सम्मेलनमा उनले गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गरे ।