बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सभामुखले प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाए

सोमबार, बैशाख २४ २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् ।

मंगलबार (भोलि) बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल तय भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष तहमा छलफल गर्न लागेका हुन् ।

आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

संसदको बर्खे अधिवेशन २८ गतेदेखि सुरु हुँदैछ ।