बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

एकीकृत समाजवादीको लज्जाजनक हार र माधव नेपालको तल्लोस्तरको गालीगलौज

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा दुवै क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।

कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि एकीकृत समाजवादीका दुबै क्षेत्रका उम्मेदवारको धरौटी जफत भएको हो ।

एमालेबाट विभाजन भएपछि २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको यो पार्टीले गत संसदीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरुसँग गठबन्धन गर्दै १० सिटमा विजयी हासिल गरेको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाल जस्ता पुराना नेता भएको पार्टीका उम्मेदवारले गत शनिबार भएको दचुनावमा जमानतसमेत जोगाउन नसक्नु कम लज्जाको विषय भने होइन । त्यहाँमाथि यसका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालकै गृहजिल्ला इलाममा समेत यो दलका उम्मेदवार जितबहादुर राईले खसेको ६९ हजार २८७ मतमा जम्मा ४०८ मत ल्याए । खनाललाई पार्टीले चुनावी कमान्डर समेत बनाएर पठाएको थियो। खनाल आफैँ गएको निर्वाचनमा इलाम १ बाट पराजित भएका थिए। भलै त्यो बेला गठबन्धनबाट उनी उम्मेदवार थिए ।

यस्तै बझाङ प्रदेश सभामा दिलबहादुर सिंहले पनि २ हजार ५१४ मत मात्र पाए । त्यहाँ पनि सिंहको जमानत जफत भएको छ ।

गएको २०७९ को संसदीय निर्वाचनमा पनि एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन भने सकेको थिएन। प्रत्यक्षतर्फ उसले ठूला दलसँगको तालमेलका कारण १० सिट जितेको थियो ।

संसदमा १० सिट भएको दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गठबन्धनमा आफ्नो पनि प्रधानमन्त्रीको भाग खोजिरहेका छन् । हिजो कांग्रेससहितको सत्ता गठबन्धनमा १ बर्षका लागि प्रधानमन्त्रीको भाग पाएका माधव नेपाल फेरि एमालेसहितको सत्ता गठबन्धनमा प्रधानमन्त्रीको भाग पाउनु पर्ने बार्गेनिङमा छन् । यो संसदको बाँकी कार्यकाल मध्ये कुनै पनि सययमा आफूलाई प्रधानमन्त्रीको भाग नभए गठबन्धनमा जे पनि हुनसक्ने बताउँदै आएका नेता नेपालले हिजो मात्र सोही आशय पोखे ।

पार्टी निकट अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘०७४ सालमा मौका पाएर दुई तिहाइमा पुगेको स्थिति थियो। त्यो सदुपयोग गर्न सकेनौँ। त्यो गल्ती महसुस गरेर आत्मालोचना गर्नुपर्छ कि भनेर हामीलाई त्राहिमाम् भएको छ। गल्ती हुनसक्छ, स्वीकार गर्ने, नदोहोर्‍याउने, अहिले पनि संसद् विघटन गरेको ठिक छ भन्दिने, संविधान मिचेर ठिक गरियो भन्दिने, यस्तो कुरा जान हुँदैन। त्यही पनि अब पुरानो कुरा नगरौँ भने पनि ठिकै छ।’

त्यतिमात्र होइन उनले एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी समेत गरे । विगतदेखि नै एमालेप्रति निक्कै आक्रामक अभिव्यक्ति दिँदे अएका नेता नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरे । आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई धिक्कार छ भन्दै उनले त्यस्ता व्यक्तिलाई आगोले पोलोस् भन्दै तल्लोस्तरको टिप्पणीसमेत गर्न भ्याए ।

उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन यो समाजमा । तिनलाई पोले पोलोस । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु ।’
यतिमात्र होइन केहीदिन अघि माधव नेपालले परिस्थिति जटिल भएको र गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ भन्दै गठबन्धन परिवर्तन गर्ने धम्की समेत दिएका थिए ।

‘यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।’ उनले भनेका थिए ।

यी र यस्ता अभिव्यक्तिकै कारण जनतामा एकीकृत समाजवादी प्रति वितृष्णा बढ्दै गएको चर्चा हुन थालेको छ । आफूलाई अरुभन्दा फरक ठान्ने र अरु दलभन्दा फरक रहेको अभिव्यक्ति दिँदै आएका एकीकृत समाजवादीका शीर्ष नेताहरुबाट यो किसिमका टिकाटिप्पणी हुनु, एमाले फुटाउनुको औचित्य प्रष्ट पार्न नसक्नु, कांग्रेससँग नजिकिएर कम्युनिष्ट विचारका दलहरुलाई सत्तो सराप गर्नुले यो पार्टी खिइँदै गएको चर्चा हुन थालेको छ ।

यतिसम्मकी एमाले पार्टी विभाजनको कारण पदको लोलुप्ताका होइन भन्दै आएका अधिकांश यो पार्टीका नेताकार्यकर्ता पदकै लागि मरिहत्ते गरिरहेको प्रष्ट देखिन्छ । चाहे अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल नै किन नहुन् । माधव नेपाल १० सिट बोकेर प्रधानमन्त्रीको कुर्सी ताक्दैछन् भने खनाल पार्टीको नेतृत्व ।