बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

इलाममा एकीकृत समाजवादीका जितबहादुरले जमानत पनि जोगाउन सकेनन्

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी बने । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले पराजित गर्दै नेम्बाङ विजयी बनेका हुन् । उनी संविधान सभाका अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् । बुवा सुवासको निधन पछि भएको उपनिर्वाचनमा सुहाङले फराकिलो मतान्तरले प्रतिद्धन्द्धीलाई पराजित गर्दै बाबुको विरासत जोगाए ।

उनले २७७७२ मत ल्याए । २१९४२ मत ल्याएका कांग्रेसका खड्का पराजित भए।

यस्तै तेस्रो स्थान हाँसिल गरेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११४५७ मत ल्याए ।

बाँकी प्रतिस्पर्धी रास्वपाका मिलन लिम्बुले ५०५० मत ल्याउँदा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वार जितबहादुर राईले भने जम्मा ४०८ मत ल्याए ।

इलामको यो उपनिर्वाचनमा एकीकृत समाजवादीका राईको लज्जास्पद हार हो । यहाँ रास्वपाका लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । सम्मानित नेता झलनाथ खनाल नै चुनावी कमाण्डर भएको यस निर्वाचनमा समाजवादीले लज्जास्पद हार बेहोरेको छ ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् ।

यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।