काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले विपद् व्यवस्थापनको पुर्वतयारी गरेको छ । किर्तिपुर न.पा. ६ टौदहमा विपद् व्यवस्थापनको पुर्वतयारी गरेको हो ।
मनसुनको सुरुवातसंगै सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागी तयार रहन फौजको क्षमता अभिबृद्धी र सामाग्रीहरुको अध्यावधिक गर्न, सरोकारवाला निकायहरु विच समन्वय कायम गर्न, ज्ञान आदान प्रदान गर्न र विपद्को समयमा पुर्याउन सक्ने क्षती न्यूनिकरण गर्नको लागी प्रभावकारी रुपमा तत्काल टोली परिचालन गर्न विपद् व्यवस्थापन पुर्वतयारी आयोजना गरिएको थियो । सो अवसरमा गोताखोर तालिम गरेका दक्ष जनशक्तिले गहिराईमा डुबेका पिडितहरुको उद्धार गर्ने कला समेत प्रदर्शन गरेका थिए ।

कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयका कार्य विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गृहमन्त्रालय एन्ईओसिका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधी एवं स्थानिय जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका बिशेष अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरुबिच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालले विभिन्न विपद्जन्य घटनाहरुमा खोज तथा उद्दार कार्यलाई चस्तदुरुस्त एंव थप प्रभावकारी बनाउनको निमित्त समयसमयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको कुरा आफ्नो मन्तव्यमा राख्नु भएको थियो ।
कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । धन्यवाद ज्ञापनको क्रममा विपद् जोखिम न्युनिकरण गर्ने तथा तयारी गर्ने कार्यमा स्थानिय तह र सरोकारवाला निकायहरुसँग बाहिनी तथा मातहत कार्यालयहरु सदैव समन्वय तथा सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गर्नु भएको थियो ।उहाँले उपत्यकाका विभिन्न कलेज, स्कुल, होटल तथा स्थानिय निकायहरु संग आवश्यक समन्वय गरी विपद् सम्बन्धी सचेतनामुलक कक्षाहरु समेत संचालन गरेको जानकारी गराउनु भएको थियो ।
