बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

मतगणनाअघि इलाममा सर्वदलीय बैठक, बझाङको मतपेटिका संकलन गरिँदै

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ ।

बिहान ७ बजेका लागि बोलाइएको बैठक करीब एक घण्टा ढिलो गरि सुरु भएको हो ।

बैठकपछि हिजो भएको उपनिर्वाचनको मतगणना सुरु गरिने छ । यसअघि हिजो राति ११ बजेबाट नै मतगणना गर्ने भनिए पनि मतदान स्थलबाट मतपेटिका गणनास्थलमा लैजान ढिलाइ भएपछि आज बिहान सुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

मतगणना इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको छ ।

इलाममा हिजो भएको निर्वाचनमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यो समग्रमा ६० प्रतिशत हो ।

यता बझाङमा  भने मतपेटिका संकलन कार्य जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १ (क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ ।

साइपाल गाउँपालिकाको मतपेटिका आज बिहान हेलिकप्टर मार्फत ल्याइएको छ । आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन भइसक्ने छ ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन गरेपछि मात्र गणना शुरु हुने आयोगले जनाएको छ ।

६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १ (क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।