तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ ।
दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको चिनियाँ ठेकेदार कम्पनी ‘एनहुई केयुनन हाइवे एण्ड ब्रिज’ का इञ्जिनीयर अनुप श्रेष्ठले जानकारी दिए । दिनरात र बिदाको समयमा पनि आफूहरु खटिएकोले हाल २३ प्रतिशतभन्दा धेरै प्रगति हासिल गरेको उनले बताए । पश्चिम खण्डमा नौ दशमलव दुई किलोमिटर सडक पक्की निर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताए ।
ठेकेदार कम्पनीले पनि उक्त आयोजनालाई प्रतिष्ठाको विषय बनाएकोले करिब एक सय जना चिनियाँ प्राविधिकसहित सडक विस्तार तीव्र पारिएको चिनियाँ कम्पनीका साईड इञ्जिनीयर छन्ज लोनले जानकारी दिए । ‘सडक विस्तारलाई तीव्र पार्न एक सय जना त चिनियाँ प्राविधिक नै खटिएका छन्’’, इञ्जिनीयर छन्ज लोनले भने, ‘‘यो सडक विस्तारलाई प्रभावकारी तवरले कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा हामी जुटिरहेका छौँ ।’