बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आईजीपी कुँवर देशबाहिर रहेका बेला एक डीआईजीसहित ६ जना एसएसपीहरूको सरुवा

काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुख फेरिए

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रवार काठमाडौं परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई जिम्मेवारी तोकेको छ । भट्टराई यसअघि राष्ट्रिय सुरक्षा परिषदमा थिए ।

काठमाडौं जिल्ला प्रहरी परिसरको हालका प्रमुख भुपेन्द्र खत्रीको सरुवा भने अपराध अनुसन्धान विभागमा भएको छ । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको छ भने कोशीका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर देशबाहिर रहेका बेला भएको सरुवाले प्रहरी उच्च अधिकारीहरूबीच हल्लाखल्ला मच्चिएको छ । आईजीपी कुँवर यतिबेला इन्टरपोलको महासभामा भाग लिन फ्रान्सको लियोनमा छन् ।

काठमाडौं र उपत्यकाका प्रहरी प्रमुखको सरुवामा एआइजी श्याम ज्ञवाली हाबी भएको चर्चा छ ।