बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

काँग्रेस नेता आफताव आमलको जेलमुक्त हुने प्रयास अन्ततः असफल

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले विहीबार अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेसँगै पूर्वसांसद आलमको जेलमुक्त हुने प्रयास असफल भएको छ ।

उनीहरुलाई रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटनसम्बन्धी घटनामा संलग्न भएको आरोपमा जन्मकैद सजाय फैसला भएको हो ।

सोही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अन्य छ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिएका छन्।

गत सोमबारदेखि जारी बहसमा बिहीबारसम्म बादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट नौ जना गरी १२ जनाले बहस गरेका थिए ।

बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा विसं २०७६ कात्तिक १८ गते पूर्व सांसद आलमसहित ११ जनाविरूद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो ।

विसं २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरफरदवामा भएको बम विस्फोट भएको थियो ।

आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।

उनी २०५६ को संसदीय निर्वाचनमा निर्वाचित भई व्यवस्थापिका संसदको समेत सदस्य रहेका थिए। आलम बिसं २०७८ असोज २६ गते २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका थिए।

चुनावमा प्रयोग गर्न भारतबाट भाडामा मान्छे ल्याएर काका शेख इन्द्रिसको गोठमा बम बनाउन लगाएको अवस्थामा विस्फोट भएको थियो । २७ चैत ०६४ मा बम पड्किएर केहीको मृत्यु भएको थियो भने विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेको आरोप छ ।

बम विस्फोटमा सरुअठा गाउँका २५ वर्षीय पिन्टु सिंह, राजपुर फरहदवाका ओसी अख्तर र अन्य तीन भारतीय घाइते भएकोमा घटनाको पोल खुल्ने डरले उनीहरूको हत्या गरेको प्रहरी दाबी छ ।

घटनालगत्तै मृतक पिन्टुका बुबा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रुखसाना खातुनले सांसद आलम, उनका भाइ शेख मोहमद महताभ आलम, सोही ठाउँका शेख भदै, शेख मोमिन र हालको गरुडा नगरपालिकाअन्तर्गत जयनगरका शेख बलेरुलाई मुख्य आरोपी बनाएर जिल्ला हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा दर्ता गराएका थिए । तर, प्रहरी र सरकारी वकिलमाथि दबाबका कारण अहिलेसम्म उनी पक्राउ परेका थिएनन् ।

त्यतिवेला घटनाका केही प्रत्यक्षदर्शीले समेत बम विस्फोटमा उनीहरू घाइते भएको र पछि इँटाभट्टाको आगोमा हालेर हत्या गरेको कागज गरिदिएका थिए । यसरी हत्या गरिएका ओसीका आमा रुखसाना खातुनको समेत पछि गोली हानेर हत्या भएको थियो ।