काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।
परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ /मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे ।
यसैबीच एमाले अध्यक्षा केपी शर्मा ओलीले परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको अग्रिम शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालबालिकाको फोटोसमेत सेयर गर्दै उनले शुभकामना दिएका हुन् ।