काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मङ्गलवार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको बार पाक सुलीकोट गाउँपालिकाले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखाको बारपाकमा ७.६ म्यागनीच्युडको भूकम्पमा परी दिवङ्गत भएका नागरिकहरूको सम्मान तथा सम्झनामा आज बुधवार बिदा दिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
गाउँपालिका १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा बुधबार दिउँसो ११:४५ बजे श्रद्धाञ्जली सभा राखेको पनि उनले जानकारी दिए।
गाउँ कार्यपालिका बैठकले बार पाक सुलीकोट गाउँपालिका भित्रका सरकारी कार्यालय, गैरसरकारी कार्यालय विद्यालय तथा बैङ्क तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।