काठमाडौं । वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर-२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ क मा हुने उपनिर्वाचनको लागि मौन अवधि सुरु हुँदै छ ।
मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारहरूले कुनै पनि प्रकारको प्रचार गर्न पाउने छैनन् । उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचारमा रोक लगाइएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार वैशाख १२ गते (बुधबार) राति १२ बजेबाट चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले सम्बन्धित सबैमा स्मरण गराएको छ ।
साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न-नगराउन आयोगले आग्रह गरेको छ । वैशाख १५ गते प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेशतर्फ बझाङ-१ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।
मौन अवधिमा के-के गर्न पाइँदैन ?
– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन ।
– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ ।
– एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।
– उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
निर्वाचन आयोगले वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको बैठकले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो ।
उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचनसम्बन्धी सामग्रीको प्रयोगमा बाधा पु-याउन नहुने आयोगले स्मरण गराएको छ । यस्तै, मतपत्रको दुरुपयोग गर्न नहुने, गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, मतदानको अधिकारबिना मतदान गर्न नहुने, पटक(पटक मतदान गर्न नहुने, मत संकेत सार्वजनिक गर्न नहुने र मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने कानुनी व्यवस्था रहेको छ ।
मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै पनि कार्य हुन नदिने र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशनसमेत जारी गरेको छ ।