सुर्खेत । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन् । पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रुपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए ।
उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्नेमा जोड दिए । ‘अहिले किन पढ्नुप¥यो भन्ने खालको भाष्य पैदा भईरहेको छ, तर त्यो गलत हो,’ उनले भने, ‘पढ्नु एकदमै आवाश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ ।’ अहिलेको सूचनाप्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए । मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए ।
‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैंले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें ।’। राउतले भने । वर्तमानमा ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने भाष्य समाजमा निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन नसकेको राउतले बताए । ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढेलेखेकाहरुले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन ।’ उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्व घटेको उनले बताए । संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए ।
उक्त सत्रमा वक्ताका रुपमा रहेका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताईन् । अहिलेको समयमा युवाहरुले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पठनमा ध्यान नदिने गरेको उनले बताईन् । मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताईन् । ‘हामीले विद्यालय शिक्षालाई निकै महत्व दिएर लागिरहेका छौँ, कोही पनि विद्यालय बाहिर नरहनेगरि अघि बढेका छौं,’ उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको वानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ ।’