बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक बिदाबारे गृहमन्त्रीले भने : तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ

मंगलबार, बैशाख ११ २०८१

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालमा धेरैले सार्वजनिक विदाको औचित्यमा प्रश्न उठाएपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालबाटै त्यसको प्रष्टीकरण दिएका हुन्।

अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको उनले बताएका छन् ।

तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताउँदै उनले भने ‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

हेर्नुहोस् उनको स्टाटस

विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा, “भिआइपी सवारी” का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।
विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु।
लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार।
लोकतन्त्र दिवसको सबैलाई शुभकामना।