काठमाडौं । नेपालीहरूलाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा युरोपेली देशहरू पठाइदिने भन्दै ठगी गर्ने एवं विभिन्न ठाउँमा पु¥याएर अलपत्र पार्ने क्रम बढ्न थालेको श्रम र सुरक्षा अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार नेपालीको श्रम गन्तव्य युरोपेली देशहरू तथा क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डलगायत हुन थालेपछि ती देशमा पठाइदिने भन्दै ठगी गर्ने क्रम पनि बढेको हुनसक्छ ।
सरकारी विवरणले पछिल्ला वर्षहरूमा युरोपेली देशमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या बढिरहेको देखाउँछ ।
नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरू परम्परागत श्रम गन्तव्य मुलुकमा ठगी हुने क्रम जारी रहेको तर पछिल्ला वर्षमा युरोप र क्यानडामा समेत त्यस्तै समस्या देखा परिरहेको बताउँछन् ।
वैदेशिक रोजगार मामिलाका जानकारहरू ठगी तथा मानव तस्करी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू भने त्यस्ता घटनाबारे आफूहरू जानकार रहेको र रोकथाम सरकारको मुख्य प्राथमिकता भएको दाबी गर्छन् ।
नेपाल प्रहरीले सार्वजनिक गर्ने विवरणहरूमा प्रायः दैनिक जस्तो नै वैदेशिक रोजगारीका नाममा ठगी भएका घटनासँग सम्बन्धित अभियुक्तहरू पक्राउ परेको जानकारी उल्लेख भएको पाइन्छ ।
गत साता मात्र काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा, पोर्चुगललगायतका देशमा रोजगारीका लागि ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको थियो ।
त्यसमध्ये दुई जनाले ’टप च्वाइस एजुकेशन कन्सल्टेन्सी प्रालि’बाट रोजगारीका लागि क्यानडासहित युरोपेली देशहरू पठाइदिने भन्दै कम्तीमा ५० जनालाई ठगी गरेको र भारतको राजधानी दिल्ली पु¥याएर अलपत्र पारेको प्रहरी अधिकृतहरूको भनाइ छ ।
उक्त घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार त्यो नामको एजुकेशन कन्सल्टेन्सी दर्ता भएको पाइएको छैन भने उनीहरूले दलालमार्फत् दिल्ली पु¥याएर कैयौँलाई अलपत्र पारेको पाइएको छ ।
उक्त कार्यालयका अनुसार हाल करिब दुई दर्जन पीडितले मात्र उनीहरूविरुद्ध जाहेरी दिएका छन् । तर सबै पीडितहरूसँग उठाएको रकम कम्तीमा पाँच करोड रुपैयाँजति हुने देखिएको छ ।
आरोप लागेका व्यक्तिहरूले क्यानडासहित युरोपेली देशहरू स्पेन, पोर्चुगल, क्रोएशिया, पोल्यान्ड, माल्टालगायतमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेका थिए ।
उनीहरूजस्तै आरोप लागेका कैयौँ व्यक्तिलाई आफूले पक्राउ गरेको र वैदेशिक रोजगारसम्बन्धी ठगीमा कारबाही गर्नका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार गत साउनदेखि हालसम्म क्यानडा पठाइदिने भनेर ठगी गरेको भन्दै विभागमा ११३ वटा उजुरी दर्ता भएका छन् ।
त्यस अवधिमा पीडितहरूले करिब २ करोड ६० लाख रुपैयाँ ठगी भएको उजुरीमा उल्लेख गरेका छन् ।
उनका अनुसार युरोपेली देशहरूमा पनि व्यक्तिगत श्रम स्वीकृतिमा पठाइदिने भन्दै ठगी भएको भन्ने खालका कैयौँ उजुरी विभागमा आउने गरेका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल पछिल्ला समयमा नेपालीहरू युरोप तथा अमेरिका र क्यानडालगायतका देशमा जान खोज्दा मानव तस्करीमा पर्ने गरेको बताउँछन् ।
उनले भने, “पहिले मलेशिया र खाडीतिर यस्ता घटना बढी हुन्थे अचेल पनि ती ठाउँमा जारी छन् अनि फैलिएर यो युरोपतिर र क्यानडा अनि अमेरिकातर्फ पनि पुगेको छ ।“
यद्यपि उनले पहिले मानव बेचबिखन हुने गरेकोमा अहिले भने “आफ्नै चाहनामा विदेश जान खोज्दा“ तस्करीका गतिविधि धेरै हुन थालेका छन् ।
“जसरी पनि विदेश जाऔँ भन्ने भावना विकास भएकाले गर्दा मानिसहरू युरोप वा क्यानडा भन्ने बित्तिकै तयार हुन्छन् अनि उनीहरू तस्करीको सिकार बन्छन्,“ फुयाल भन्छन् ।
“तस्करीबाटै गन्तव्यमा पुगे र त्यहाँ केही भएन भने कसैले खबर गर्दैनन् तर पीडित भए वा बन्धक बने भने मात्र खबर गर्ने हुन् ।“
उक्त ब्यूरोले मानवबेचबिखन तथा ओसारपसारका पीडितहरूको मात्र मामिला हेर्ने गर्छ ।
वैदेशिक रोजगारीका नाममा ठगी भएकाहरूको मुद्दा भने वैदेशिक रोजगार विभागले हेर्ने गर्छ । उसले ’पक्राउ गरिदिनू’ भनेका व्यक्तिलाई भने प्रहरीले प्रक्राउ गर्ने गर्छ ।
विभागका सूचना अधिकारी उप्रेती पनि पछिल्ला वर्षहरूमा युरोपेली देशहरू तथा क्यानडामा ठगी भएको भन्ने उजुरी बढिरहेको बताउँछन् ।
उनी भन्छन्, “त्यस्ता देशहरूमा संस्थागत रूपमा कामदार पठाउने भन्दा पनि बढी व्यक्तिगत रूपमा पठाउने भन्दै ठगी गरेको पाइएको छ ।“
वैदेशिक रोजगार व्यवसायी भने सरकारी नीतिकै कारण युरोपेली तथा क्यानडा जस्ता देशहरूमा कामदार भिसामा पठाइदिने भन्दै ठगी हुने क्रम बढेको आरोप लगाउँछन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी अहिले विशेषगरी युरोपबाट ठूलो संख्यामा कामदारको माग भएको तर संस्थागत रूपमा पठाउन सरकारी नीति अस्पष्ट रहेको बताउँछन् ।
“अहिले हामीले पहल गर्दा पनि दूतावासहरूले मागपत्र प्रमाणीकरण गर्दैनन् अनि दूतावास नभएका देशको पनि यहाँ गर्ने कार्यविधि छैन,“ उनले भने ।
“त्यसले गर्दा कन्सल्टेन्सीको नाममा र व्यक्तिगत रूपमा गठी बढेको हो । सरकारले नीति बनाएर हामीलाई संस्थागत रूपमा पठाउन बाटो खोल्नुपर्छ त्यसले यस्ता गतिविधि न्यूनीकरण गर्छ ।“
उनले संस्थागत रूपमा पठाउने व्यवस्था मिलाएमा व्यवसायीहरूलाई अनुगमन र कारबाही गर्न पनि सजिलो हुने दाबी गरे ।
युरोप तथा क्यानडा लगायतका पछिल्ला वर्षहरूमा कैयौँ नेपालीका श्रम गन्तव्य भएका अधिकांश मुलुकसँग नेपालको श्रम सम्झौता छैन ।
त्यसले गर्दा पनि ठगीलाई बल पुगेको कतिपय जानकारहरूको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता दीपक ढकाल चाहिँ आफूहरू पछिल्ला ठगीका घटनाबारे सचेत रहेको दाबी गर्छन् ।
उनले भने, “हामी यस्ता घटना हुनुहुँदैन भनेर सचेत छौँ र जनचेतनाका लागि हामीले व्यापक रूपमा काम गरिरहेका छौँ । यसमा सबैभन्दा ठूलो कुरा भनेको विदेश जान चाहने व्यक्ति सचेत भयो भने मात्र हुन्छ ।“
“मन्त्रालयको प्राथमिकता नै वैदेशिक रोजगारीका नामा ठगी नहोस् भन्नेमा छ त्यसमा हामीले विशेष ध्यान दिएर काम गरिरहेका छौँ ।“
उनी नेपालबाट कुनै पनि देशमा रोजगारीका लागि जान तीनवटा माध्यम मात्र भएको बताउँछन् । र, त्यसबारे विदेश जान चाहनेले थाहा पाउनुपर्नेमा जोड दिन्छन् ।
वैदेशिक रोजगारीमा जानका निम्ति सरकार–सरकारबीच भएको सम्झौता अन्तर्गत सरकारी निकायले नै प्रक्रिया पु¥याएर नागरिकहरूलाई गन्तव्य मुलुक पठाउने व्यवस्था मिलाउँछ ।
उदाहरणका लागि त्यस्तो व्यवस्था अन्तर्गत ईपीएसमार्फत् नेपालीहरू दक्षिण कोरिया गइरहेका छन् ।
अर्को व्यवस्था भनेको संस्थागत रूपमा जाने । त्यस अन्तर्गत म्यानपावर कम्पनीहरूमार्फत् नेपालीहरू वैदेशिक रोजगारीमा जान सक्छन् ।
तेस्रो प्रक्रिया भनेको कुनै पनि व्यक्तिले आफ्नै पहलमा गन्तव्य मुलुकमा रोजगारदाता खोजेर पहल गरी श्रम स्वीकृति लिएर पनि जान सक्छन् ।
“यी तीन माध्यमबाहेक अन्य कुनै पनि माध्यमबाट रोजगारीका लागि पठाउन मिल्ने बाटो छैन । त्यसैले कसैले शैक्षिक परामर्श वा अन्य कम्पनीबाट कामदार भिसामा पठाउँछ भन्छ भने त्यो त सरासर ठगी हो भन्ने बुझ्नुपर्छ,“ ढकाल भन्छन् ।
उनी व्यक्तिगत रूपमा कसैले रोजगारीका लागि पठाइदिन्छु भनेकै भरमा त्यसको आधिकारिकता पुष्टि नगरी रकम नदिन र लोभ लालचमा नपर्न पनि आग्रह गर्छन् ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर युरोपका प्रमुख ६ वटा देशहरूमा रोजगारीका लागि जाने नेपालीहरूको संख्या एक वर्षमै करिब दोबर भएको तथ्यांक छ ।
पछिल्ला वर्षहरूमा रुमेनिआ, क्रोएशिया, साइप्रस, यूके, पोल्यान्ड र माल्टा सहितका देशहरूमा नेपाली कामदारहरू जाने क्रम उच्च भएको सरकारी विवरणले देखाउँछ ।
आर्थिक वर्ष २०७८÷७९ मा यी देशहरूमा जाने कामदारहरूको संख्या २० हजार रहेकोमा आर्थिक वर्ष २०७९÷८० बढेर ३७ हजार पुगेको छ ।
त्यस्तै गत आर्थिक वर्षमा नेपालबाट ६४६ जनाले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर क्यानडा गएको देखिन्छ ।
क्यानडा जानेहरू सबै व्यक्तिगत पहलमा श्रम स्वीकृति लिएर गएका हुन् । युरोप जानेमा चाहिँ केही संस्थागत रूपमा पनि गएका छन् ।
हाल केही वर्ष अरब देशहरूमा काम गरेका नेपालीहरू पनि युरोप र क्यानडा, अस्ट्रेलिया तथा न्यूजील्यान्डतिर जान थालेको जानकारहरू बताउँछन् ।
नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरेका छन् । तर द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन् ।
व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्यांक छ । (बीबीसी)