काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भेटवार्ता भएको छ ।
सुदूरपश्चिम सरकार गठनबा विषयमा सत्ता गठबन्धनमा विवाद उत्पन्न भएसँगै उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा समसामयीक राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।
केन्द्रमा पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँगको सहकार्यमा उभिएपछि सत्तागठबन्धनमा संशय पैदा भएको छ ।
यसअघि खनालले कांग्रेससहितको समीकरणमा एकीकृत समाजवादी नजाने बताउँदै आएका छन् ।
वामपन्थीहरूलाई बलियो बनाएर जानुपर्ने आवश्यकता रहेको, तर समीकरणमा सम्मान र सहकार्य हुनुपर्ने उनको मत छ । बरु, प्रतिपक्षमै बसेर पार्टी निर्माणमा लाग्नुपर्ने उनले बताएका छन् ।
गठबन्धनमा सम्मानजनक सहकार्य नभएको भन्दै सुरुदेखि नै असन्तुष्ट एकीकृत समाजवादीले पछिल्लो परिस्थितिमाथि आवश्यक निर्णय लिन सचिवालय बैठक समेत बोलाएको छ ।
कांग्रेस, नेकपा एस र राप्रपाको समर्थन जुटाएर नाउपाका रेशम चौधरी निकट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । त्यस्तै एमाले र माओवादीको समर्थनमा रञ्जिता पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
रेशम पक्षका लक्ष्मणकिशोरलाई कांग्रेसका १८, नेकपा एसका ४, नाउपाका ७ र राप्रपाका १ गरी ३० सांसदको समर्थन छ । एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका कैलाशलाई एमालेका १०, माओवादीका १०, नाउपाका ६ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन छ । गठबन्धनभित्र विवादसँगै नाउपाभित्रबाटै दोहोरो मुख्यमन्त्रीको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुख कानूनी परामर्शमा छन् ।
यद्यपि, नाउपा सुदूरपश्चिममा रेशम पक्षकै बहुमत छ । रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री नियुक्त भए त्यसको तरंग केन्द्रसम्म आउने नेताहरुले दाबी गर्न थालेका छन् ।
एसको दाउपेचले ओली आक्रोशित
सत्ता गठबन्धन मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट गरेको भन्दै आक्रोश पोखेका छन् ।
अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा काँग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरे ।
सोमबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘एस भन्ने पार्टी छ एउटा । हिजोमात्रै प्रधानमन्त्रीको दाबी गर्ने, मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो सुदूरपश्चिममा । एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यसप्रकारको अराजनीतिक निर्णय लियो । जुन सही दिशामा राजनीति फर्किंदै थियो ।