चार उच्च अधिकारीहरु उमेरहदका कारण सेवानिवृत हुँदै
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।
नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।
रिक्त हुने दुई एआईजीको लागि २०७९ असार १७ मा बढुवा भएका डीआईजीहरु जोशी, ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाको प्रतिस्पर्धामा थिए । ५६ बर्ष उमेरहदको कारण जेष्ठता सूचीको पहिलो नम्बरमा रहेका डीआईजी जोशी आगामी असार १९ मा अनिवार्य अवकाश पाउने छन् ।
सूचनामा भनिएको छ,प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद ११ नियम १२७ (१) को देहाय (क) (२) बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या २ (दुई) मा बढुवा गर्न सोमबार बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४)अनुसार प्रकाशित गरिएको छ ।’
प्रहरी नियमावलीमा बिद्यमान ब्यबस्था अनुसार एआईजी र डीआईजीको ५६ बर्षे उमेरहदका कारण यहि बैशाख ५ गतेदेखि एआईजी सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाने भएका छन्। त्यस्तै बैशाख ७ गतेदेखी एआईजी मिरा चौधरी थारु र डीआईजी बिकासराज खनालले पनि अनिवार्य अवकाश पाउनेछन्।
त्यस्तै डीआईजीको ५६ बर्षे उमेरहदका कारण डीआईजी सुरेन्द्र प्रसाद मैनाली पनि जेठ १० देखि सेवा निवृत हुनेछन्। अवकाशमा जाने एआईजी भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, एआईजी चौधरी नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन बिभाग प्रमुख, डीआईजी खनाल गण्डकी प्रदेश प्रहरी प्रमुख र डीआईजी मैनाली नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
सरकारले २०८१ बैशाख शुरुमै नेपाल प्रहरीका दुई एआईजीहरुको अनिवार्य अवकाश पश्चात् रिक्त हुने दरबन्दीमा बढुवाको लागि छलफल अगाडी बढाएको छ।