विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए ।
कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको प्रधानमन्त्ती प्रचण्डको आरोप थियो ।
‘पहिला कांग्रेससँग गठबन्धन हुँदा नै यो कुरा आएको थियो,’ उनले भने, ‘नयाँ समीकरण फेरिएपछि कांग्रेसले पहिलो कोसिस रविलाई प्रधानमन्त्री बनाउन गरेको हो । त्यो सफल नभएपछि अहिले छानबिनको प्रश्न उठायो ।’
उनले कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताए ।
यदि रविविरुद्ध कुनै प्रमाण भेटिए अनुसन्धान हुने उनले बताँदै भने, ‘मैले अनुसन्धानकर्ताहरुकै सुझावअनुसार बोलेपछि मैले कसैलाई बचाउनुपर्ने कुनै कारण पनि छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भोलि कुनै प्रमाण देखिन्छ भने अनुसन्धान गर्न सरकार पछि पर्दैन ।’
अनुसन्धान गर्ने निकाय सीआईबीले नै रविविरुद्ध प्रमाण नभएको भनेपछि थप अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रचण्डको जिकिर छ ।
संसद्को गतिरोध अन्त्य गर्न छलफल भइरहेको प्रचण्डले बताए । ‘सभामुखले पनि छलफल गर्नुभएको छ । मैले पनि गरिरहेको छु । यो राजनीतिक सहमतिकै आधारमा समाधान हुन्छ,’ उनले भने ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।