काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ ।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको राप्रपाले झण्डै डेढ महिनापछि काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागेको हो ।
राप्रपाले काठमाडौं, ललितपुर र भक्तपुरमा दिनहुँजसो बैठक, घरदैलो र छलफलहरू गरेको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार उपत्यकाका १८ नगरपालिकामा आन्दोलन कमाण्डर तोकिएका थिए । वडामा समिति गठन गरिएको छ । राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ ।
काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाको तयारी छ ।
साढे ११ बजे भृकृटीमण्डपबाट शहरका विभिन्न भाग हुँदै कुनै ठाउँमा सभा गर्ने राप्रपाले जनाएको छ ।
राप्रपाले जनप्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरबाट पनि मानिसहरू ओसारेको छ । कम्तीमा ५० हजार मानिसहरू काठमाडौंका सडकमा उतार्ने राप्रपाले तयारी गरेको छ ।
राप्रपाको जनप्रदर्शनमा गत निर्वाचनमा काठमाडौं उपत्यकाबाट प्राप्त समानुपातिक मत बराबर जनता उतार्ने गरी तयारी भइरहेको छ । काठमाडौंवासीको समर्थन प्राप्त हुने दाबी समेत राप्रपाले गरेको छ ।