बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अर्थमन्त्रीको हतार !

बिहिबार, चैत्र २२ २०८०

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनमाथि विवादास्पद छवी भएका सचिव डा. कृष्णहरि पुरस्कर पुस्करलाई हटाउन निकै दवाव पर्दै आएको छ । तर, मन्त्री पुनले सचिवको सरुवालाई भन्दा सहसचिव सरुवामा जोड दिएको गत मंगलबार र बुधवार गरेको सरुवाबाट पुष्टि भएको छ । मन्त्री पुनले आफू निकटका कनिष्ट सहसचिवहरुलाई महत्वपूर्ण बिभाग, वरिष्ठलाई मन्त्रालयको महाशाखा प्रमूख र भरखरै बढुवा भएकाहरुलाई कार्यालय प्रमूखको जिम्मेवारी नीति अख्यिार गरेको निकट स्रोतले जानकारी दिएको छ ।

यही कारण ०८० माघ १७ गते अघिल्लो सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागको महानिर्देशकमा खटाएका सहसचिव भूपाल बराललाई हटाएका छन् । महानिर्देशक भएको दुई महिना बित्न नपाउँदै मन्त्री पुनले मन्त्रीस्तरीय निर्णय गर्दै उनको सरुवा वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागमा गरेका छन् । आन्तरिक राजश्व विभागको नेतृत्वमा २०८० चैत १४ गते बुधवार शिवलाल तिवारीलाई खटाइएको छ ।

सहसचिव तिवारीले यसअघि ठूलाकरदाता कार्यालयको नेतृत्वमा रहेर काम गरिसकेका छन् । वातावरणको महानिर्देशकको जिम्मेवारीमा रहेकै बखत अर्थमन्त्री पुनले उनलाई मन्त्रालयमा भित्र्याएर चैत १४ गते बुधवार नै शक्तिशाली आन्तरिक राजश्व विभागको नेतृत्वमा खटाएका हुन् । अर्थ मन्त्री पुनको उक्त निर्णयलाई मन्त्रालयका कर्मचारीहरुले भने खासै रुचाएका छैनन् ।

डेढ महिनामा दुई पटक सरुवा

भन्सार विभागको महानिर्देशको जिम्मेवारीमा रहेका सहसचिव शोभाकान्त पौडेललाई हटाएर ढुण्डी प्रसाद निरौलालाई नियुक्त गरिएको छ । जबकि उनी उनी एक महिना अघि मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशकको जिम्मेवारी खटिएका थिए ।

उनी पनि २०८० चैत १३ गते मंगलबार अर्थ मन्त्रालयमा भित्रिएका थिए । निरौलालाई भन्सार विभागको नेतृत्वमा खटाएसँगै डेढ महिनामा उनी महत्वपूर्ण विभाग र निकायको जिम्मेवारी सम्हाल्ने भाग्यमानी सहसचिव बनेका छन् । निजामती प्रशासन सेवा सम्वन्धी विधेयक संसदमा दर्ता भएको छ । उक्त विधेयक तत्काल पास नभएको खण्डमा ५८ वर्षे उमेर हदका कारण उनी १५ महिनापछि स्वत अवकाशमा जानेछन् ।

यस अघि वीरगंज भन्सार कार्यालयमा एकवर्ष प्रमुख भन्सार प्रशासक र १८ महिना मध्यमस्तरीय कर कार्यालय बबरमहलको प्रमुखको जिम्मेवारीमा रहेर काम गर्दा कुनै उल्लेखनीय काम उनले नगरेको समाचार स्रोतले बताएको छ । तर, मन्त्री पुनले मुलुकले लक्ष्यअनुसार राजश्व संकलन हुन नसकेको अवस्थामा सहसचिव निरौलामा के त्यस्तो चमत्कारी क्षमता देखेर हतारहतार नाथमबाट मन्त्रालयमा भित्र्याएर भन्सार जस्तो महत्वपूर्ण बिभागको महानिर्देशकको जिम्मेवारी पठाएका हुन् भन्ने विषयमा अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आश्चर्य प्रकट गरेका छन् ।

अवकाशको मुखमा रहेका सहसचिवलाई करिब डेढ महिनाको अवधिमा फरक फरक मन्त्रालय अन्तर्गतको महत्वपूर्ण भूमिकामा किन खटाइयो भनेर निजामती प्रशसनमा चर्चा चल्न थालेको छ । मध्यमस्तरीय कर कार्यालयबाट सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेपनि दुई महिना भन्दा बढी समय कुर्सीविहीन पारिएका निरौलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिवको भूमिकामा रहेका सहसचिव अर्जुन भण्डारीको साथ र जोडबलबाटै महत्वपूर्ण भूमिका पुग्न सफल हुँदै आएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

तालिम केन्द्रमा खेदिए पौडेल

भन्सार विभागको प्रमुख भएर कुनै विवादमा नपरी मेहनतपूर्वक राम्रै काम गर्दै आएका महानिर्देशक शोभाकान्त पौडेललाई भने सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा लखेटिएको छ । तालिम केन्द्रको प्रमुखमा कार्यरत रामप्रसाद आचार्यलाई भने मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुख रहेका र माओवादी निकट भनिएका रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ ।

माथि उल्लेखित दुई वटा विभागपछि मन्त्रालयको बजेट महाशाखालाई आकर्षक रुपमा लिने गरिएको छ । उक्त महाशाखाको जिम्मेवारीमा रहेका उत्तरकुमार खत्रीलाई भने योजना, अनुगमन तथा मूल्याङ्कनमा सरुवा गरिएको छ । सो महाशाखाको जिम्मेवारीमा रहेका सहसचिव धनिराम शर्मा भने राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा पुगेका छन् । सहसचिव शर्मालाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले योजना आयोगबाट मन्त्रालयमा सरुवा गरी भित्र्याएका थिए ।

सहसचिव हटाउन अझै दवाव

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव श्रीकृष्ण नेपाललाई पनि मन्त्रालयबाट सरुवा गर्ने तयारीमा अर्थमन्त्री पुन पुगेको स्रोतले जानकारी दिएको छ । पौडेल अर्थमन्त्री हुँदा महाशाखा प्रमुख भएका नेपाललाई हटाउन यसअघि नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनले दबाव दिएको थियो ।

तरपनि तत्कालीन मन्त्री महतले नेपाललाई निरन्तरता दिएका थिए । नव नियुक्त मन्त्री पुनले मन्त्रालयको नेतृत्व सम्हालेको एक महिना पुग्न लागेको छ । यो अवधिमा दुई महानिर्देशक र आन्तरिक राजश्व बिभागमा कार्यरत डीडीजी अर्जुन भट्टराईलाई सरुवा गरेपनि मन्त्री पुनले तीनजना सहसचिवलाई मन्त्रालयमा भित्र्याएका छन । मन्त्रालय भित्रिएकामध्ये सहसचिव रामप्रसाद आचार्य र नारायण प्रसाद सापकोटालाई भने यो समाचार तयार पादौसम्म जिम्मेवारी दिन बाँकी रहेको छ ।

सचिव र सहसचिव सरुवामा अलमल

अझै पनि सचिव, मन्त्रालयका कुन कुन सहसचिवलाई हटाएर नयाँलाई भित्र्याउने भन्नेमा मन्त्री पुन अलमलमा परेको मन्त्रालय स्रोतले बताएको छ । यद्यपि मन्त्री पुनले अनुभवी कर्मचारीको नयाँ टिम बनाउने तयारी गरिरहेको बुझिएको छ । २०८० फागुन २३ गते अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका पुनले एक महिना नपुग्दै महत्वपूर्ण विभागको नेतृत्व हेरफेर गरेर नयाँ ढंगले अगाडि बढ्ने संकेत दिएका छन् ।

स्रोतका अनुसार अर्थमन्त्री पुन अर्थ सचिव पुष्करलाई केही समय निरन्तरता दिने पक्षमा रहेको देखिन्छ । होइन भने सचिव सरुवामा चुप बसेर सहसचिवहरुको सरुवालाई जोड दिनुले पनि यो विषयलाई बल मिलेको छ । तर, नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरुले पुष्करलाई अर्थसचिवबाट हटाउनु पर्ने माग गरिरहेका छन् । अर्थ सचिव पुस्कर २०८० चैत २ गते अमेरिका भ्रमणमा निस्किएका थिए । प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन उनलाई अनुमति दिएको बताइन्छ । जसले गर्दा पुष्करले अर्थ सचिवमै निरन्तरता पाउने सम्भावना रहेको स्रोतको दावी छ ।

तर, माओवादी केन्द्र तथा नेकपा एमाले निटक कर्मचारीहरूले भने सचिव पुष्करलाई अर्थ सचिवबाट हटाएर हाल राजस्व सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाउन लबिङ पनि गरिरहेको बुझिएको छ ।

पुष्करलाई हटाएको अवस्थामा राजस्व सचिव घिमिरलाई अर्थ सचिवको जिम्मेवारी दिने सम्भावना प्रवल रहेको स्रोत बताउँछ । साथै, हाल बित्त आयोगमा थन्क्याइएका सचिव कृष्णबहादुर राउतलाई अर्थ सचिवको जिम्मेवारीमा भित्र्याउनुपर्ने दवाव पनि मन्त्री पुनमाथि पर्दै आएको छ ।

नयाँ आर्थिक वर्ष बजेट निर्माणको तयारी

आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटको तयारी र निर्माण व्यवसायीको करिब ४० अर्ब रुपैयाँ भुक्तानी गर्न अर्थमन्त्री पुनले विश्वासिला सहसचिव शाक्यलाई बजेट महाशाखामा लगेका छन् ।

सहसचिव शाक्य यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशक भएर काम गरिसकेकोले पनि राजश्व सम्बन्धी जानकार सहसचिव मानिन्छन् । संस्थान समन्वय तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मेवारी रहेका सहसचिव नारायण प्रसाद रिसाललाई हटाएर नयाँलाई दिने तयारी मन्त्रालयले गरिरहेको बताइएको छ । रिसाललाई सरुवा गरेर उक्त महाशाखामा कसलाई पठाउने निश्कर्षमा भने मन्त्रालय पुगिनसकेको स्रोतले जानकारी दिएको छ ।

हाल मन्त्रालय भन्दा बाहिर रहेका सहसचिव बलराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराई, सुमन दाहाल, जीवलाल भुसाललगायतलाई मन्त्रालयमा भित्र्याउन पर्ने विषयमा लबिङ चलिरहेको स्रोतले बताएको छ ।

तर, मन्त्रालयबाट बाहिरिने सहसचिवको संख्या एकिन हुन नसक्दा को को भित्रिनेको निश्चित नभएको मन्त्रालयमा चर्चा चल्दै आएको छ । साँघु साप्ताहिकबाट