बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सहकारी ठगी प्रकरणमा रास्वपा अर्का मन्त्रीबारे पनि संसद्‌मा उठ्यो प्रश्न

मंगलबार, चैत्र २० २०८०

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा अर्का मन्त्रीमाथि पनि संसद्‌मा उठ्यो प्रश्न उठेको छ ।

सहकारी ठगी आरोपमा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि संसदीय छानबिनको माग उठिरहेका बेला रास्वपाका उपसभापतिसमेत रहेका श्रम तथा रोजगार मन्त्री डीपी अर्यालमाथि प्रश्न उठेको हो ।

कांग्रेसले रास्वपा उपसभापति समेत रहेको श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएको विषय उठाएको हो।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस सांसद कान्तिका सेजुवालले मन्त्री अर्याल सरकारले समस्याग्रस्त घोषणा गरेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष रहेको भन्दै छानबिन गर्न माग गरेकी हुन् ।

त्यसपछि कांग्रेसका अर्का सांसद सांसद रामकृष्ण यादवले प्रधानमन्त्री र प्रहरी प्रमुखले नै छानबिन आवश्यक नभएको बताएपछि अनुसन्धान प्रभावित हुने आशंका बढेको बताए।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई दोषी देखाउने यथेष्ठ प्रमाणहरू रहेको उनले बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको गुनासो छ । सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत रहेको कुरा आएको छ । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याउने काममा त्यो काम पनि श्रममन्त्री अर्यालको हो भन्ने छ’ यादवले भने, ‘यो सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानबिन आवश्यक छ । संसदीय समिति बनाऔँ ।’

उनले अहिले समस्याग्रस्त सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको आरोप लगाए।

उनले भने, ‘यो घटनाले पनि थप पुष्टि गरेको छ। सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने कुरा। त्यसैले निष्पक्ष छानबिन आवश्यक छ। संसदीय छानबिन समिति बनाऔँ। हामीले संसदीय छानबिन समितिलाई अनिवार्य शर्त मानेको छ।’