काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको पेशी आज तोकिएको छ ।
युवराज सफलले सर्वोच्च अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने कानुनी व्यवस्था गर्न भन्दै दाय गरेको रिट सुनुवाइका लागि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा पेशी परेको हो ।
सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभालगायत राजनीतिक दलहरुलाई विपक्षी बनाएका छन् ।
सुशासन ऐन–२०६४ को दफा १८ मा समेत स्वार्थ बाझिएकोमा निर्णय गर्न नपाउने भनी प्रष्ट व्यवस्था रहेको उनको दाबी छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नलिइ उनीलक्षित गरेर उनले जाहेरी दरखास्त परेको व्यक्तिलाई प्रधानमन्त्री र प्रहरी प्रमुखले समेत प्रतिरक्षा गरेको उनले रिट निवेदनमा उल्लेख गरेका छन् ।
स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने गरी संविधान र कानुनको व्याख्या गरी सो को कार्यान्वयन गर्नु गराउनु भनी परमादेश जारी गर्न उनले माग गरेका छन् ।