आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएकाे दाबी
काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएका परराष्ट्रमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमण सफल भएको दाबी गरे ।
नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए ।
उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ ।
नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको उनले बताए । नेपालको कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए ।
यस्तै,काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बढी भन्दा बढी सहभागिता उच्च नेतृत्वको सहभागिताको संकेत गरेको श्रेष्ठले बताए ।