बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

सोमबार, चैत्र १९ २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

२३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो ।

यस प्रदेशमा एमाले-माओवादी-नेकपा एसको गठबन्धनमा ५५ जना सांसद छन् । ११० सदस्यीय रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

उनले केही दिनअघिमात्र हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर विश्वासको मत लिने वातावरण बनाएका थिए ।

तर, निर्णयविपरीत बज्राचार्य मन्त्री बन्न गएको भन्दै हानेपाले बज्राचार्यलाई कारबाही गर्ने बताएको छ । प्रदेशमा उक्त पार्टीका २ सांसद छन् ।

२०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

बागमतीमा नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ ।

प्रदेशको सबैभन्दा ठूलो लद नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।