बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

त्रिशूली ट्याक्सी दुर्घटना :

काजक्रिया गर्न नपाउँदै परिवारका ५ जना त्रिशूलीमा बिलाए, एक जनाको खोजी जारी

आइतबार, चैत्र १८ २०८०

काठमाडौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गोरखा नगरपालिका–७ बस्ने १८ वर्षीय विवश रोका बेपत्ता छन् । उनको खोजी कार्य जारी छ ।

शनिबार भएको दुर्घटनामा ट्याक्सीमा सवार पाँचजनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया अञ्जना रोका, आठ वर्षीय बालक आगमन उपरकोटीको मृत्यु भएको छ ।

शनिबार बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी नदीमा खसेको थियो ।

एक वर्षदेखि क्यान्सरबाट ग्रसित भएका गोरखा नगरपालिका— ७ पौवाखेतका ३९ वर्षका शंकर रोकाको शुक्रबार साँझ काठमाडौंको अस्पतालमा मृत्यु भएको थियो ।

पशुपति आर्यघाटमा दाहसंस्कार पछि उनका छरछिमेक माइक्रो रिजर्भ गरेर शुक्रबार साँझतिरै काठमाडौंका लागि हिँडे। दाहसंस्कार सकी बिहान ३ बजे दुईवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौंबाट गोरखाका लागि हिँडे।

दाहसंस्कार गरेर फर्कने क्रममा बा २ ज ४१९६ नम्बरको ट्याक्सी पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूलीमा खस्दा त्यसमा सवार मृतकका एकाघरका पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

मृतक शंकरकी आमा ७० वर्षकी जूनकीरी रोका, उनकी छोरी गोरखा नगरपालिका—४ की हरिमाया रोका (उपरकोटी), नाति ८ वर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका— ७ बतासेका अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु र एकजना बेपत्ता भएपछि पौवाखेत शोकमा छ । दुर्घटनामा परेर मृत्यु भएका पाँचै जनाको शव शनिबार गोरखा अस्पतालमा लगेर पोस्टमार्टम गरिएको छ।

बुवा शंकरलाई दागबत्ती दिएर फर्केका छोरा १८ वर्षका विवश रोका त्रिशूलीमा बेपत्ता छन् ।