काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको स्वचालित हतियारबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले समिति बनाएको छ ।
समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । समितिका अन्य सदस्यहरुमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।
गत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित दुर्गा प्रसाईंको अंगरक्षक दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका थिए ।
त्यसपछि बडिगार्डद्वय खड्का र धिमालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले १३ चैतमा उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको थियो भने लाइसेन्स लिएर समेत राख्न नमिल्ने स्वचालित हतियार कसरी प्रसाईंले लाइसेन्स प्राप्त गरे भन्नेबारे छानबिन गर्न आदेश दिएको थियो ।