बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

त्रासमा कांग्रेस : गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

बिहिबार, चैत्र १५ २०८०

काठमाडौं । गत फागुन २१ गते आकस्मिक रूपमा राजनीतिक समीकरण बनेसँगै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।
एकाएक प्रतिपक्षमा पुगेका पछि यति बेला कांग्रेस रन्थनिएको मात्र होइन नयाँ गठबन्धन तोड्ने र सरकार ढाल्ने उपायको खोजीमा छ ।

सरकारबाट बाहिरिनुको पीडाबाट मुक्त हुन नसकेको कांग्रेस वर्तमान पाँच दलीय गठबन्धन कमजोर बनाउन विभिन्न उपाय खोज्दै छ । प्रधानमन्त्री प्रचण्डले आफूविरुद्धको समीकरण तोडेर एमालेसहितको नयाँ समीकरण बनाउँदै गरेका बेला त्यो समीकरण बन्न नदिन कांग्रेसले ठूलै पापड पेलेको थियो । उसले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि एकीकृत समाजवादीका माधव नेपाल, रास्वपाका रवि लामिछानेसम्मलाई प्रधानमन्त्रीको अफर गरेको थियो ।

गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै कांग्रेसले संसद अवरुद्ध समेत गर्यो । त्यसपछि बैठकमा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ समेत दिए । तर कांग्रेसले प्रधानमन्त्रीको जवाफमा चित्त बुझाएन र  निरन्तर विरोध गरिरहेको छ ।

सत्ता समीकरण फेरिएलगत्तै कांग्रेसभित्र लोकतान्त्रिक मोर्चा ब्यूँताउनुपर्ने आवाज उठिरहेको छ । त्यतिबेलै कांग्रेसले राप्रपा, नेकपा एस, लोसपा, जनमतदेखि नागरिक उन्मुक्तिसहितका दलसँग छलफल समेत गरेको थियो । नेकपा एस उसकाे आग्रह अस्वीकार गरी नयाँ सत्तासमीकरणमा सामेल भएको छ ।

त्यसपछि पनि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रजातन्त्रवादीलाई समेट्न सभापतिलाई सुझाव नै दिएको थियो । छलफलले परिणाम दिन नसके पनि कांग्रेसभित्र लोकतान्त्रिक मोर्चा ब्यूँताउनुपर्ने आवाज भने थप बलियो हुँदै गएको छ । त्यसकै सेरोफेरोमा कांग्रेसले आफैँले प्रधानमन्त्रीसम्मको अफर गरेको रास्वपा सभापति एवं वर्तमान गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग अघि सारेको देखिन्छ ।

भ्रष्टाचारका प्राय सबै प्रकरणमा देउवा दम्पतिदेखि कांग्रेसका शीर्षनेताहरुको नाम जोडिने गरेको छ । टेरामक्स खरीद प्रकरणमा पूर्वमन्त्रीहरु मोहनबहादुर बस्नेत र ज्ञानबहादुर कार्कीको सम्लग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले उनीहरुको बयानसमेत लिइसकेको छ । अख्तियार स्रोतका अनुसार सो मुद्दा दर्ता हुने तरखरमा छ ।

नयाँ सत्ता समीकरण बनेको एक महिना नपुग्दै गठबन्धनभित्र सुरु भएको असन्तुष्टि र आयुबारे सकारात्मक चर्चा नभइरहेका बेला गठबन्धनमा विग्रह पर्खेको कांग्रेसभित्र लोकतान्त्रिक तथा प्रजातान्त्रिक शक्तिहरूलाई समेटेर अगाडि बढ्नुपर्ने आवाज थप बढ्दै गएको हो ।

कांग्रेसले सदनमा सरकारमाथि सुरु गरेको दबाब सरकारबाट बाहिरिनु परेको पीडा भन्दा भ्रष्टाचारमा आफ्ना नेता पर्ने भयका कारण हो भन्ने चर्चा छ । सरकार ढाल्नसक्ने तागत कमजोर हुँदै गएपछि यतिबेला कांग्रेसले प्लान बी सुरु गरेको कांग्रेस निकटहरुले नै बताउन थालेका छन् । गृहमन्त्रीको राजीनामा त एउटा बहानबाजी मात्र हो कांग्रेसको यतिबेलाको त्रास भनेको आफ्ना नेता कसरी जोगाउने भन्ने हो । कांग्रेस अन्तत सोही कुराको सेटलमेन्ट चाहन्छ ।

पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरण भन्दा कांग्रेसलाई सभापति शेरबहादुर देउवा र पत्नी आरजुसम्म तानिन सक्ने पुराना फाइलहरुको भय छ । उक्त प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण र कांग्रेस नेत्री आरजुको पनि सम्लग्नता भएको चर्चा छ ।

सोही कारण आरजु गिरफ्तारी पर्न सक्नेसम्मको चर्चा चलाइएको छ । आरजु यतिबेला भारतमा बसिरहेकी छिन् ।पारिवारिक कामले भारतमा रहेकी आरजु नेपाल नआएको कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा बयान र पक्राउ पर्ने डरको कारण भन्ने पनि हल्ला छ ।

यनकेन सरकार गिराउन नसके शक्तिमा नरहने मात्र होइन भावी दिनपनि आफ्नो दलका लागि सुखद नहुने देखिएपछि कांग्रेस यतिबेला भाउन्नमा छ ।

सरकार गिराउने हेतुले कांग्रेसले सुरुदेखि गठबन्धनमा फाटो र तनाव ल्याउने कार्ड एकैपटक फ्याँकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव र सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आक्रामक रणनीतिलाई कांग्रेसले प्राथमिकतामा राखेको छ ।

कांग्रेसले विरोधको खास तारो भने गृहमन्त्री रवि लामिछानेलाई बनाएको छ ।

उसले गृहमन्त्री लामिछानेको नैतिकतामाथि गम्भीर प्रश्न उठाएर राजीनामा निरन्तर मागिरहेको छ । यस घटनाले कांग्रेसभित्रकै नैतिकताको प्रश्न पनि उठाएको छ ।

गृहमन्त्री लामिछाने भने विवादस्पद र भ्रष्टाचारका विभिन्न काण्डमा नाम जोडिएका भिआईपीहरुमाथि निगरानी मात्रै होइन कारवाही नै अघि बढाइ हाल्ने प्रयासमा देखिन्छन् । सरकारको यस प्रयासमा यति बेला सबैभन्दा बढी त्रासमा कांग्रेस देखिन्छ । गृहमन्त्री विगतका विवादास्पद घटनामा संलग्नहरु भनिएका शक्ति केन्द्रका व्यक्तिहरुलाई कारवाही प्रक्रियामा ल्याएर जेल समेत हाल्ने र राजनीतिकर्मीलगायतका भिआईपीहरुको सात्तो लिने खेलमा देखिन्छन् ।

गगनको विरोधको तारो रवि लामिछाने

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको नाम नलिएरै उनीमाथि छट्टुको संज्ञा दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका थिए ।

रास्वपा नेताहरूप्रति लक्षित गर्दै थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरु गरेको आरोपसमेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए। झुक्याउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाइ थियो ।

उनले भने,’छट्टुहरू आउँछन् । रंगरिगन देखाउँछन् । अलपत्र पार्छन् । हामीलाई गति र मति दुवै भएको चाहिन्छ । घरभित्र फोहोर छ । सफा गर्नैपर्छ । कार्पेटमुनि लुकाएर हुँदैन ।’

यसअघि प्रतिनिधिसभाको बैठकमा समेत थापाले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न माग गरेका थिए । गृहमन्त्री लामिछाने सञ्चालक रहेको तत्कालीन ग्लोबल गोर्खा नेटवर्कले पनि ५० औँ करोड ठगि गरेको भन्दै कसैलाई पनि अनुसन्धानमा छाड्न नहुने थापाको भनाइ थियो ।

यसअघि रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता प्रमाणित गर्न नेपाली कांग्रेसका नेताहरुलाई चुनौती दिएका थिए ।

लामो बक्तव्य जारी गर्दै उनले यो विषयमा अनावश्यक राजनीति नगर्न समेत चेतावनी दिएका थिए ।

यसमा आफुसँग खुला बहस गर्न समेत उनले चुनौती दिएका छन् ।

कांग्रेस नेता गगन थापालाई लक्षित गरी उनले काठमाडौं क्षेत्र नम्बर ४ मा बहस गर्न आफु तयार रहेको बताएका थिए ।

राज्य व्यवस्था समितिमा रविको जवाफ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम नभएको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै न हस्ताक्षर, न औठाछाप, न निवेदन त न केवाईसी केही नभएको बताएका हुन् ।

उनले भने, ‘सहकारीमा मेरो नाम भएको भन्ने बुझियो । जहाँ मेरो नामबाहेक केही पनि छैन । न हस्ताक्षर, न औठाछाप, न निवेदन त न केवाईसी नै भरिएको छ । न कुनै पत्र पाएको छु । मैले जानकारी पाएअनुसार अदालतमा मुद्दा पनि दर्ता भइसकेको छ । तर मेरो त्यो मुद्दामा नाम उल्लेख छैन । जाहेरी मात्रै छ मेरो विरुद्ध । त्यो पनि प्रहरीमा दर्ता भएको छैन भन्ने बुझेको छु । यसलाई म कुनै पनि प्रभाव पार्ने काम गर्दैन र गर्नुहुँदैन ।’

उनले प्रश्न आएपछि बताउनैपर्ने उल्लेख गर्दै उत्तरदायी भएर जवाफ दिनुपर्ने बताएका थिए ।