विराटनगर । वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।
क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधबार नै विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने जानकारी छोरा शरदराज सुवेदीले दिए।
भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए ।
उनका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् । पुस्तक लेखन मात्रै होइन उनी समालोचना गर्न पनि त्यतिकै जागरुक थिए ।
सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीको समालोचना सङ्ग्रह विश्व विद्यालयहरूमा पढाइ हुने गरेको छन् ।
स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।