काठमाडौं । तराई-मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई-मधेसमा होली पर्व मनाउने गरिएको छ ।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ ।
तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरू मिलेर रंगहरु दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।
होलीका अवसरमा आज मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ ।
अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।