बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बयान लिँदै सिआइबी

बिहिबार, चैत्र ८ २०८०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरी समेतलाई अनुसन्धानमा तानेको छ ।

तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा हस्ताक्षर गर्ने विनोदका बुबा लुनकरनदास चौधरी भए पनि कार्यकारी भूमिकामा विनोद स्वयं रहेको कागजात फेला परिसकेको छ ।

यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । बुधबार सीआईबीले  एक पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको सूचना दिएको हो ।

यसैबीच सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको स्रोतले बतायो ।

आज बिहान उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको स्रोतले बतायो।

माघ १८ गते सीजी होल्डिङ्सको अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । अरुण विनोदका भाइ हुन् । गएको माघ १८ मा अरुणसहित फक्राउ परेका तीन जना हाजिरी जमानीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेशपछि छुटेका थिए । यद्यपि, सीआईबीले अनुसन्धान जारी राखेको थियो ।

अनुसन्धान कै क्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद, उनका भाइ वसन्त चौधरी, आमा गंगादेवी चौधरी र भिनाजु महेशकुमार अग्रवाल समेत अनुसन्धानमा तानिने भएका छन् ।

अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा नभएपनि सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनको भूमिका रहेको अनुसन्धानमा देखिएको सीआईबी स्रोतले बतायो ।

२०४३ भदौ १३ गते कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले त्यसबेला विनोदसहित चौधरी परिवारका सदस्यहरूले खोल्न लागेको प्रस्तावित कम्पनी, च्याम्पियन फुटवेयर लिमिटेडको नाममा २५ प्रतिशत शेयर लगानी गर्ने र आफ्नो नाममा रहेको १० रोपनी जग्गा फुटवेयरलाई बिक्री गर्ने निर्णय गरेको थियो । त्यो सञ्चालक समितिका सदस्यहरू पनि सीआईबीको अनुसन्धानमा तानिएका हुन् ।