बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भाग्दा भाग्दै समातिए माओवादी उपाध्यक्ष महरा

सोमबार, चैत्र ५ २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

महरालाई कपिलवस्तुबाट अहिले काठमाडौँ ल्याइएको प्रवक्ता ढकालले जानकारी दिए। यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बयान लिइ कागज गरी छाडेको थियो ।

यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।

अनुसन्धान सुरू गर्न प्रहरीले तयारी गर्दा-गर्दै महरा स्थलमार्ग हुँदै काठमाडौंबाट बाहिरिएका थिए । सोमबार उनी एकाएक भैरहवा हुँदै दाङ हिँडेको सूचना आएपछि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न निर्देशन दिएको थियो। गिरफ्तारीको सूचना पाएर उनी भैरहवा हुँदै भारत पस्ने तयारीमा रहेका थिए । स्थलमार्गबाट दाङ हिँडेका महरालाई पक्राउ गर्न कपिलवस्तु प्रहरीले निर्देशन पाएलगत्तै नियन्त्रणमा लिइ सडकमै प्रहरीले ब्यारिकेट लगाएकाे थियाे।

स्रोतका अनुसार महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर नै राखेको थियो । गाडी ब्यारियर छलेर भाग्दा भाग्दै प्रहरीले उनी चढेको गाडीलाई घेरा हालेर पक्राउ गरेको थियो ।

त्यसपछि  केन्द्रको आदेश अनुसार भैरहवाबाट यति एयरलाइन्सको फ्लाइटबाट उनलाई काठमाडौं ल्याइएको हो । महरालाई काठमाडौं ल्याएर अहिले सीआईबी पुर्‍याइएको छ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उहाँका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।