काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा अर्बपति व्यापारी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने भएको छ।
आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।
सोही निर्देशन बमोजिम सांसद विनोद चौधरीको पनि सीआईबीले बयान लिने स्रोतले बतायो ।
यसअघि सिआइबीले जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापा र च्याम्पियन फुटवेयर प्रालिरसिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक ४५ वर्षीय सञ्जय ठाकुर पक्राउ गरेको थियो।
सरकारी कागजातअनुसार अरुण चौधरी र उनकी पत्नी शिला चौधरीको नाममा रहेको उक्त १० रोपनी जग्गामा हाल चााँदबाग स्कुल सञ्चालनमा छ।
गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही प्रकरणमा गत माघ १८ गते पक्राउ परेका विनोदका भाइ अरुण चौधरी माघ २४ गते छुटेका थिए ।