बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टक्सारको मालबाँसेमा आगलागी एघार घर जले

आइतबार, चैत्र ४ २०८०

भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको मालबाँसेमा आगलागी हुँदा एघार घर जलेर नष्ट भएका छन् ।

शनिवार दिउँसो करिव तीन बजे तिर जंगलबाट लागेको डढेलो स्थानीय बासिन्दाहरुको ढुंगा, माटो र फुसको छानो भएको घरमा आउँदा बस्तीका घर र गोठ जलेर नष्ट भएको हो ।

आगलागीबाट सात वटा घर र चार वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर पुर्णरुपमा जलेर नष्ट भएको छ । यस्तै नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, बिशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर, गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ भने खाली रहेको मिना श्रेष्ठ र कृष्ण बस्नेतको घर पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी र्दिए ।

आगलागी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, टक्सार बिमानस्थल सुरक्षा चौकी, नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासी जुटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । हावाहुरीका कारण भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले बताए ।

आगलागी पूर्णरुपमा नियन्त्रणमा आईनसकेकाले क्षतिको बिवरणहरु संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।