काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरुले मिलेर पारित गर्नु उपयुक्त हुने उनले बताए ।
उनले भने, ‘म समर्थनबाट सुरु गर्छु’, ओलीले संसदमा भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’
प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रश्ताव राख्ने क्रममा गर्नुभएको तर्क, विश्लेषण र नयाँ सत्ता समिकरण बनाउनुको कारणबारे दिएको स्पष्टिकरण चित्तबुझ्दो भएको पनि बताए ।
ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताए ।