बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी, पुलको १४ वटा डोरीमा क्षति

मंगलबार, फाल्गुन २९ २०८०

कैलाली । सोमबार कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भयो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा हिजो साँझ एक्कासि आगलागी भएको थियो ।

आगलागीबाट रु एक करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुुन लाइटर र नगद रु ५७ हजार क्षति भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । क्षतिको अन्य विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रहरी निरीक्षक डाँगीका अनुसार आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट पुुलको पूर्वपट्टी रहेका १४ वटा डोरीमा क्षति पुुगेको उनले बताए । आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासीलगायतले आगो निभाउने काम गरेका थिए । लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएकोबताए ।

पर्साको वीरगञ्जबाट सामान लिएर आएको ट्रक चालक जगनाथ जोशीले बताए “ट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिए । कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टीको भागमा आगो लागेको थाहा पाएँ”, उनले ।

पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताउनुभयो । ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी मात्र सवार थिए । दुवैजना सकुशल प्रहरीको नियन्त्रणमा रहेका छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए। आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।