बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न सहज भएको भन्दै दर्शनार्थी खुशी

शनिबार, फाल्गुन २६ २०८०

काठमाडौं । महाशिवरात्रिका अवसरमा शुक्रबार मुलुकभरका शिवालयमा भगवान् शिवको पूजाअर्चना गरी मनाइएको छ ।

यसैक्रममा यहाँस्थित आराध्यदेव भगवान् पशुपतिनाथ मनिदरमा आज राति ९ बजेसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन एवं पूजाअर्चना गरेका छन् ।

बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो रातिसम्म पनि उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए ।

कोषले बिहान २ बजेदेखि आज बिहान पाँच बजेसम्म २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गरेको अनुमान गरेको छ । अरु बेला भन्दा यस पटक पशुपतिनाथ दर्शन गर्न सहज भएको दर्शनार्थीले बताएका छन् । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामराका तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको थियो । अवाञ्छित गतिविधिको निगरानीका लागि सुरक्षाकर्मी सहितको एक छुट्टै टोली परिचालन भएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

पशुपति क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी तथा सोही अनुसार स्वयंसेवक परिचालन गरिएको विकास कोषले जनाएको छ । सुरक्षाकर्मी फागुन २६ गतेसम्म सुरक्षाकर्मी सुरक्षार्थ खटिएका थिए ।

यसैगरी पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत अहिले पनि तयारी अवस्थामा राखिएको छ । भक्तजनको सहजताका लागि एकैचोटिमा नौदेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । शिवरात्रिका अवसरमा भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

भगवान् शिवको प्रिय वस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा छ । मूल शिविरसँगै कमान्डपोष्टअन्तर्गत सवकमान्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको छ ।