काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकलेनयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दलहरूलाई आग्रह गरेको हो ।
नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
यो सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको पनि उनले बताए ।
यस्तै, एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आज बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने तय गरेको महासचिव पोखरेलले जानकारी दिए । वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष समारोह आयोजना गरिने पोखरेलले बताए ।
‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछौं। त्यही सन्दर्भमा देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय पनि गरेका थियौं,’ पोखरेलले भने, ‘आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।’