बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

८ बुँदे सहमतिबारे के भन्छन् नयाँ गठबन्धनमा आबद्ध दलका नेता ?

मंगलबार, फाल्गुन २२ २०८०

काठमाडौं । चार दलीय नयाँ गठबन्धनमा आबद्ध दलहरुबीच ८ बुँदे लिखित सहमति भएको छ ।नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भएको हो ।

सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

यस्तै राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

त्यसै गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि भएको छ ।

यसैगरी सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।

यसैगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने समेत सहमतिपत्रमा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने, सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने तथा राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि सहमति जनाइएको छ ।

चार दलबीच भएको सहमतिबारे सोधिएको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन बनेको बताएका छन् ।

उनले यसअघिको गठबन्धनबाट सरकारले चाहे जसरी काम गर्न नसकेको र राजनीतिक स्थायित्व पनि हुन नसक्ने देखेर नयाँ गठबन्धन बनाउनुपरेको जनाएका छन् ।

यस्तै एमालेका महासचिव शंकर पोखरेलले नयाँ गठबन्धनमा सामेल हुने दलहरूको संख्या नटुंगिएकाले तत्कालै मन्त्रालय बाँडफाँड नहुने जनाएका छन् ।

सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले नयाँ गठबन्धनमा सहमति जनाउने अन्य दलसँग कुरा गरेर मात्रै मन्त्रिपरिषद पूर्णता दिने प्रष्ट पारे । यसअघिको गठबन्धनबाट सरकारले चाहे जसरी डेलिभरी दिन नसकेर नयाँ गठबन्धन बनाउनुपरेको उनको दाबी थियो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले डेलिभरी गर्न सकेको दिनसम्म मात्रै सरकारमा रहने बताए ।

८ बुँदे लिखित सहमति सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उपसभापति वाग्लेले जनतालाई डेलिभरी गर्न सकिएन भने आफै बहिर्गमनको पथ अवलम्बन गर्ने बताएका हुन् ।

‘डेलिभरी गर्न सकेको दिनसम्म हामी सरकारमा रहन्छौं सकिएन भने सम्मानजनक बहिर्गमनको पथ आफैले नै अवलम्बन गर्छौँ,’ उनले भने ।