काठमाडौं । राजनीतिमा नयाँ तरंग उत्पन्न भएसँगै राजनीतिक दलहरु बिहानैदेखि आआफ्ना बैठकमा जुटेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता गरेका थिए ।
त्यस्तै, साँझमा महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो । पछि रास्वपाका सभापति रवि लामिछाने पनि बालकोट पुगेका थिए ।
छलफल सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा भएको भनिएपनि सत्तागठबन्धन परिवर्तन तथा नयाँ समीकरणबारे समेत छलफल भएको बताइएको छ । यस्तै, नयाँ राजनीतिक परिवेशलाई ध्यानमा राखेर दलहरुले आआफ्ना बैठक डाकेका हुन् ।
सत्ता नेतृत्वको दल नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ ।
समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।
अहिले बालकोटमा नेकपा एमालेको आकस्मिक सचिवालय बैठक जारी छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि बसिरहेको छ । बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।
उत्ता सत्तारुढ अर्को घटक जसपा पनि पछिल्लो विकसित घटनाक्रमबारे छलफलका लागि तयारी गरिरहेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरूसँग छलफलको तयारी भइरहेको पुष्टि गरे ।