काठमाडौं । सर्वोच्च अदालतको फैसलाविपरीत रोल्पाको माडी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’को अवसरमा फाल्गुन १ गते मंगलबार सार्वजनिक बिदा दिएको जनाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जारी गरेको सूचनामा भनिएको छ,‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८०।१०।१७ गतेको निर्णयानुसार ‘जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिने’ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यस्तै हिमाली जिल्ला हुम्लाको सरदमुकाममा रहेको सिमकोट गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
फागुन १ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गर्दै आइतबार सिमकोट गाउँपालिकाले एक सूचना जारी गरेको हो ।
१ गतेका दिन गाउँपालिका मातहत रहेका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण संघ संस्थामा सार्वजनिक बिदा दिइएको कार्यवाह अध्यक्ष नन्द रावतले बताए ।
२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् । सशस्त्र जनयुद्ध नै लोकतान्त्रिक गणतन्त्र स्थापनाको आधार भएकाले दिवस मनाउनुका साथै उक्त दिन सार्वजनिक विदा दिइएको कार्यवाहक अध्यक्ष रावतले बताए ।
यसैगरी रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका छन् ।
यसअघि सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको थियो ।
जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा फागुन १ गते सार्वजनिक जनयुद्ध शब्द प्रयोग गरी बिदा दिन नमिल्ने उल्लेख छ ।