बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रामग्राम लिज प्रकरणमा प्रचण्डलाई नमुछ्न पर्यटनमन्त्रीको हारगुहार

सोमबार, माघ २९ २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्।

आइतवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि रामग्राम लिज प्रकरणमा आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरे ।

उनले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माण गर्नेलगायत समझदारी गर्न खोजिएको आक्षेप लगाएको भन्दै असन्तुष्टि पोखे । उनले पर्यटन मन्त्रीको रुपमा गल्ती भए जिम्मेवारी र सजायको भागीदार हुन आफू तयार रहेको समेत बताए ।

सांसदहरुले नै अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा राम्रो नभएको उनको भनाइ थियो । उनले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माणको सम्बन्धमा सम्झौता गर्न आफू अध्यक्षतामा बसेको बैठकले स्वीकृति नदिएको पनि बताए।

उनले बैठकले कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिश मात्रै गरेको दाबी गरे।

‘लुम्बिनी विकास कोषको अध्यक्ष भएकाले समितिमा छलफल गर्ने र रामग्रामका विषयमा सम्झौता भएको हो भने त्रुटिपूर्ण छ। सरकारको तर्फबाट कतै पनि स्वीकृति दिएको छैन। लुम्बिनी विकास कोषको बैठकमा कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिश गरेको थियो‚’ उनले भने, ‘रामग्रामसँग बिना प्रमाण सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोड्नु भएन। पर्यटनमन्त्रीको रुपमा गल्ति भएको छ भने आफैँ जिम्मेवारी र सजायको भागीदार हुन पनि तयार छु तर अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा गरिमामय संसदीय समिति बैठकमा नगर्दा राम्रो हुन्छ।’

उनले लुम्बिनी विकास कोषले रामग्राम लिजमा दिने विषयमा सम्झौता गरेको भए त्रुटिपूर्ण हुने बताए। उनले सरकारको तर्फबाट स्वीकृति नदिएको पनि स्पष्ट पारे।