काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको हो ।
डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो ।
करिब ३६ वर्षदेखि चौधरी ग्रुपले भोगचलन गरिरहेको १० रोपनी जग्गामा सिआइबीले केही महिनायता अनुसन्धान गर्दै आएको थियो। गत साता सिआइबीले चौधरी ग्रुपका अरूण चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेर बुधबार हाजिर जमानीमा छाडेको थियो।
सरकारी जग्गा किर्ते गरी ब्यक्तिको नाममा नामसारी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरिरहँदा सरकारले भने जग्गा फिर्ता गराएर मुद्दा कमजोर बनाउने र उन्मुक्ति दिने तयारी थालेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।