विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । वार्ता दिउँसो ३ बजे विराटनगरको एक होटलमा हुनेछ ।
प्रदेशको नामकरण पहिचानका आधारमा फेरि गर्न माग गर्दै आन्दोलन गरिरहेको पुनः नामकरण संयुक्त संघर्ष समिति कोशी प्रदेश सरकारसँग वार्ता गर्न तयार भएको छ ।
कोशी प्रदेश सरकारले वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाएको लामो समयसम्म आन्दोलनरत पक्षले पत्रको जवाफ नफर्काएर संशय पैदा भएको बेला समितिले बुधवार वार्ता गर्ने निर्णय गरेको हो ।
६ माघमा बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।