मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

व्यवसायी अरुण चौधरीसहित तीनैजना हाजिर जमानीमा रिहा

बुधबार, माघ २४ २०८०

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

मङ्गलवार काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।

अदालतको यो आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले बताए ।